एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र एमालेका कारण मुलुक फेरि द्वन्द्वमा जाने खतरा बढेर गएको छ । एकीकृत नेकपा माओवादीले अनिश्चित आमहड्तालको आह्वान गरेको छ । आमहड्तालका कारण मुलुक ठप्प भएको छ ।
मुलुकभरका कुनै पनि शिक्षण संस्था, कलकारखाना, औद्योगिक प्रतिष्ठान, र्सार्वजनिक तथा निजी सवारी साधन चलेका छैनन् । सिंगो मुलुक ठप्प हुँदा नागरिकले भोग्ने पीडा त छँदैछ, मुलुकले दैनिक अरबौंको नोक्सान व्यहोर्नु परेको छ ।
मुलुकले पटकपटक भोग्दै आएको यस्तो प्रकारको पीडा कहिले र कसरी अन्त हुने हो अहिलेसम्म त्यसको कुनै छनक मिलेको छैन ।
संविधान जारी गर्नुपर्ने दिन जेठ १४ गते नजिकिँदै गर्दा बढेको अन्यौल र अराजकताले मुलुकवासी चिन्तित बन्नु स्वभाविक छ । जेठ १४ गतेसम्म शान्ति प्रक्रिया टुंगोमा पुर्याएर संविधान जारी गरी सक्नुपर्ने थियो, तर त्यो समय सीमामा यी दुवै महत्वपूर्ण कार्यभार पूरा नहुने भएको छ । यसबाट दलहरु चुकेका छन् । प्रष्टसँग भन्नुपर्दा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरु मध्ये प्रमुख तीन ठूला दलहरुको असफलता हो यो ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, नेपाली कांग्रेस र संविधान सभाको सबैभन्दा ठूलोदल एकीकृत नेकपा माओवादी यो अवधिमा नराम्रोसँग चुकेका छन् । उनीहरुकै कारण शान्ति प्रक्रिया निस्कर्षा नपुगेको र नयाँ संविधान बन्न नसकेको हो । यो अब कसैले कुनै पनि प्रकारबाट लुकाउन खोजे पनि लुक्न सक्ने छैन ।
यी तीन दलले एकले अर्कालाई दोष दिएर अब उम्कन पाउने छैनन । तीन दलमध्ये कसैको जिम्मेवारी बढी र कसैको कम पक्कै छ । तर, शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नदिने र संविधान जारी हुन नसक्ने अवस्थामा पुर्याउने काम ठूला दलहरुले नै गरेका हुन् । संविधानसभाको निर्वाचन पछिको यो अवधि यी तीन दलको सत्तालिप्साका कारण वर्वाद भएको दुनियाँले बुझेका छन् ।
माओवादीको जारी आन्दोलनले मुलुकको समस्या समाधान गर्न सक्छ भन्नु थप मूर्खता हुनेछ । माओवादीले बाहिर जति सुकै चर्का र ठूला कुरा गरे पनि यो आन्दोलनको मूल उद्देश्य सरकारको नेतृत्व आफूले लिनेमै केन्द्रित छ । त्यसमा पनि प्रचण्डको नेतृत्वमा सरकार बनाउने मूल उद्देश्य यो आन्दोलनको देखिन्छ ।
नेपाली जनता शान्ति चाहन्छन् । आफूले दुःख गरेर आर्जन गरेको सम्पत्तिको सुरक्षा चाहन्छन्, आफ्ना सन्ततीको सुरक्षित भविष्य देख्न चाहन्छन् । अनि सुखी र समृद्ध नेपाल बनेको हेर्न चाहन्छन् आम नेपाली । माओवादी, कांग्रेस अथवा एमाले जसको सरकार भए पनि जनताको चाहना यही हो । जनताले प्रचण्डको सरकार पनि हेरेका छन् । उनीहरुले माधव नेपालको सरकार पनि व्यहोरिरहेका छन् ।
दुवैले आआफ्ना शासनकालमा के के गरे सब लेखाजोखा जनताले गरेका छन् र भविष्यमा गर्नेछन् । तर्सथ जनताको आँखामा छारो हाल्ने काम दलहरुले तत्काल बन्द गर्नुपर्दछ ।
समय अझै पनि घडि्कएको छैन । सहमतीको कुनै विकल्प छैन । तीन ठूला दल मिलेमा मात्रै मुलुककमा तत्काल देखिएको अन्यौल, अराजतकता हट्नेछ र मुलुकले सहज निकास पाउनेछ । त्यस निम्ति अब प्रचण्ड र माधव नेपालवाहेकको व्यक्तिलाई सरकारको नेतृत्व दिनु उपयुक्त विकल्प हुन सक्छ । यी दुवैको नेतृत्वले सफलता हासिल गर्न सकेनन् । फरक यत्ति हो हिजो प्रचण्डले जनताका नामा मस्ती गरे आज माधवले जनताका नाममा तरमारी रहेछन् । यी दुवै असफल हुन् । दुवैले बहुमतको नेतृत्व गरे, तर र्सवसम्मत गराउन सकेनन् । अब र्सवसम्मत नेतृत्वको खोजी गर्न अलिकति पनि ढिला गरिनु हुन्न ।