दुइ वर्षअघि जेठ १५ गते मुलुकबाट २ सय ४० बर्ष लामो निरंकुश राजतन्त्रको अन्त्य भएको थियो । २०६५ साल जेठ १५ गते बसेको ऐतिहासिक संबिधानसभाको पहिलो बैठकले राजतन्त्रको बिधिवत अन्त्य गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गरेको हो । त्यसयता नेपाली जनताले जेठ १५ गतेलाई बिशेष पर्वका रुपमा मनाउने गरेका छन् । गणतन्त्र दिवसको अवसरमा मुलुकभर बिबिध कार्यक्रमको आयोजना गरी मनाइयो ।
गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते मध्यरातमा दलहरुले सहमति कायम गरे । संविधान निर्माण गर्ने समयसीमा एक वर्ष थपिएको छ । गणतन्त्र दिवसको अवसरमा नेताहरुले संघीय गणतन्त्रलाई सुदृढ बनाउने बचनवद्धता पनि व्यक्त गरेका छन् । उनीहरुको बचनवद्धता व्यवहारमा कसरी कार्यान्वयन हुने हो , त्यो भने हेर्न बाँकी छ ।
गणतन्त्र घोषणा भएको दुइ वर्षको अवधिमा मुलुकका प्रमुख दलहरु एक आपसमा लड्नमै व्यस्त देखिए । उनीहरुले सहमति र सहकार्यको संस्कारलाई यसबीचमा चटक्कै भूले । सहमतिबाटै मुलुकमा गणतन्त्र आएको कुरालाई विर्सेर दलहरु बहुमतीय प्रणालीमा गए जसको कारण दुइ वर्षमा निर्माण हुनुपर्ने संविधान समेत बन्न सकेन । १४ गते रातीसम्म दलहरुले सहमति कायम नगरेको भए आज मुलुक कुन अवस्थामा पुग्ने थियो , सायद त्यो अवस्थाको नेताहरुले समेत कल्पना गरेका थिएनन् ।
जे होस् , मध्यरातमा सम्झौता गरेर फेरि एकपटक सहमतीय संस्कारको पुनरावृत्ति गर्न खोजिएको छ । अहिले मुलुकको आवश्यकता पनि यही हो ।
दलहरुले अन्तिम अवस्थामा गरेको तीन बुँदे सहमतिको मूल आशय विगतमा दलहरुबीच भएका सम्झौता र सहमतिको कार्यान्वयन गर्ने भन्ने हो । विगतमा आफैले गरेका सहमति र सम्झौताहरु कार्यान्वयन गर्न लामो संघर्षपछि अर्को सम्झौता गर्नुपर्ने अवस्था आउनु लाजमर्दो विषय हो । तर , तीन बुँदे सम्झौतालाई दलहरुले गर्वको रुपमा लिएका छन् । तोडिएको सहमती पुनः कायम भएका कारण यसलाई गर्वको रुपमा पनि लिन सकिइला । तर , यो सहमति पनि विगतका सहमतिजस्तै कागजमा मात्र सीमित भयोभने आगामी एक वर्षको अवधि पनि विगतको जस्तै नहोला भन्न सकिन्न ।
अहिले दलहरुसँग आशावादी मात्र बन्न सकिन्छ । उनीहरुबाट विगतको जस्तो व्यवहार नहोस् भन्ने अपेक्षा आमजनसमुदायले गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा दलका प्रमुख नेताहरुले विगतको सहमति र सहकार्यलाई पुनः कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । र , एक वर्षको अवधिमा संविधान जारी गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । यो खुसीको कुरा हो ।
दलका नेताहरुले व्यक्त गरेका प्रतिवद्धता व्यवहारमा उतार्न सकुन् , कुर्सीको लडाइँमा मात्र नलागुन् , जनतालाई दिएको आश्वासन पूरा गरुन् र स्वर्णीम नेपालको यात्रामा मुलुकलाई अघि बढाउन सकुन् , गणतन्त्र दिवसको अवसरमा यही हाम्रो शुभकामना ।