शर्मिला ठकुरी
चितवनका विवेक नेपाली हाल काठमाडौँको बौद्धस्थित मिचिङ होटलमा काम गर्छन् । बाबुले अर्की श्रीमती ल्याएपछि सौतेनी आमाको व्यवहार सहन नसकी दुइ वर्षघि काठमाडौँ छिरेका १२ वर्षीय विवेकले सो होटलमा भाँडा माझ्ने र सरसफाइको काम गर्दैआएका छन् ।
उनीसँगै सोही होटलमा अर्का बालक अर्जुन तामाङ पनि काम गर्दैछन् । अर्जुन सानो छँदै क्षयरोगबाट बाबुको मृत्यु भएपछि उनकी आमाले उनलाई छाडेर अर्कै व्यक्तिसँग विवाह गरिन् । सानुबुबासँग बस्दै आएका अर्जुनलाई परिवारका सदस्यले मानसिक र शारीरिक पीडा दिन थालेपछि उनी बहिनीसहित गएको वर्षकाठमाडौँ आएका हुन् । उनकी बहिनी पनि त्यही होटलमा काम गर्छिन् ।
अर्जुन र विवेकजस्तै पारिवारिक दुर्व्यवहार सहन नसकी घरबाट निस्कनुपर्ने बाध्यतामा परेका बालबालिका नेपालमा धेरै छन् । घरमा राम्रो वातावरण हुनुपर्ने मान्यता बहुसङ्ख्यक बालबालिकाका निम्ति दुस्वप्न भइरहेको छ ।
पाँचथरका १३ वर्षीय राजन सुनुवार पनि यस्तै बालश्रमिक हुन् । उनले भक्तपुरको इंट्टाभट्टामा काम गर्न थालेको एक वर्ष भयो । सानै छँदा बुबाको मृत्यु भएपछि टुहुरा भएका उनी बिरामी आमाको उपचारका लागि खर्च जुटाउन काठमाडौ छिरेका थिए । अहिले उनको काँधमा आमाको उपचारसँगै घरको जिम्मेवारी समेत आएको छ ।
उनी त्यहाँ काम गरेर कमाएको पैसा घर पठाउँछन्, बिरामी आमाको उपचारका लागि । उनी भन्छन्- पहिले त साहूले काम दिन मानिरहेका थिएनन्, मैले आफ्नो सबै दुःख सुनाएपछि साहूले काम दिन माने ।
अर्जुन तामाङ भन्छन्- "मेरो यहाँ कोही थिएन, बाह्रबिसेबाट काठमाडौँ आउने गाडीमा चढेँ, खलासीले पैसा माग्छ भन्ने डरले छतमा चढेर आएँ र काठमाडौँमा केही दिन सडकमै बिताएँ । बौद्धकी आनी छोई लामाले काम गर्र्छौ भने म तिमीलाई काममा लगाइदिन्छु भन्नुभयो, मैले पनि खाना नखाएको तीन दिन भइसकेकाले काम गर्नका लागि राजी भएँ ।"
अर्जुनजस्तै अन्य बालबालिका पनि काठमाडौँ छिरेपछि यस्तै सहयोगीको खोजीमा हुन्छन् । राजधानीमा उनीहरूका आफन्त कोही हुँदैनन् तर काम गरेर बस्नुपर्ने बाध्यता पनि छ । त्यसैले उनीहरू कामका लागि सहरका विभिन्न स्थानमा भौँतारिरहन्छन् र जस्तोसुकै जोखिमपूर्ण काम गर्न पनि बाध्य हुन्छन् । बेसहारा बालबालिकाका लागि यो नियति बाध्यता नै बनेको छ ।
बालबालिकासँग सहर बजारमा काम गर्नका लागि त्यस्तो खास कुनै सीप हुँदैन । त्यसैले उनीहरूलाई होटलमा भाँडा माझने, टेबुल पुछ्ने कामबाहेक अर्को विकल्प छैन । यस्ता कामका लागि उनीहरूले मासिक एकहजार रुपैयाँसम्म तलब थाप्छन् । यी बालबालिका सरकारले बेलाबेलामा भन्ने गरेकोजस्तो औपचारिक एवम् निःशुल्क शिक्षाबाट निकै टाढा छन् ।

तामाङ र उनका साथी त पात्रमात्र हुन्, काठमाडौँका अधिकांश होटलमा बालश्रम शोषण अत्यधिक मात्रामा रहेको पाइन्छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को पछिल्लो प्रतिवेदनअनुसार नेपालमा हाल बालश्रमिकको सङ्ख्या करिब २६ लाख रहेको छ ।
यसैगरी गलैंचा तथा विभिन्न उद्योगमा काम गर्ने बालबालिकामध्ये काठमाडौंमा मात्र १४ हजार छन् भने सहर बजारका विभिन्न घरमा घरेलु कामदारका रूपमा काम गर्ने बालबालिकाको सङ्ख्या ५५ हजार रहेको छ ।
तर घरेलु कामदार भई काम गर्ने बालबालिकाको सङ्ख्या काठमाडौँमा मात्र करिब एक हजार पाँचसय रहेको बताइन्छ । नेपालमा सबैभन्दा बढी बालश्रमिक पूर्वकमैयाका बालबच्चा रहेका छन् ।
बालअधिकार सरोकार केन्द्र (सिविन) नेपालका कार्यक्रम सञ्चालक तारक धितालका अनुसार नेपालको कानुनमा १४ वर्षमुनिका बालबालिकालाई गह्रौँ काम लगाउन नपाइने व्यवस्था छ । तर यहाँका बालबालिकाले दैनिक १४ देखि १६ घण्टासम्म अत्यन्त जोखिमपूर्ण काम गर्नुपर्दा पनि सम्बन्धित पक्षको ध्यान जान सकिरहेको छैन ।
उहाँ काठमाडौँका प्रत्येक पाँच घरमध्ये एक घरमा घरेलु श्रमिकका रूपमा काम लगाइरहेको जानकारी दिँदै जहाँ श्रम छ त्यहाँ बालश्रमको शोषण भइरहेको छ भन्नुहुन्छ ।
सरकार एवम् नेताहरूले बालअधिकारलाई भाषणमा सीमित नगरी र्सार्थक कार्यको थालनी गर्नु आजको प्रमुख आवश्यकता रहेको देखिन्छ ।