चार कक्षा पढ्दा पहिलो पटक कविता लेखेर प्रथम भएकिहुन् लीला अनमोल । २७ वर्षको उमेरमा आइ पुग्दा नेपाली कवीहरुको सबै भन्दा ठूलो मानिने राष्ट्रिय कविता महोत्सवमा समेत उनि प्रथम भएकि छन् । प्रथम भएपछि अमेरिकादर्पणकोलागि नारायणी देवकोटा ले अनमोल संग गरेको अन्तरंग कुरा कानी यहाँ प्रस्तुत गरिएको छ ।
कुन बेला कविता लेख्नु हुन्छ ?
आफूलाई अनुभुति फुरेका बेलामा लेख्ने हो ।
अहिले सम्म कविता भनेको महिलाको सुन्दरताको वर्णन गर्ने , क्रान्तिलाई उर्जाहुने खालको , प्रकृतिका सुन्दरताको वर्णन गरिएको हुन्छ तर महिलाको सुन्दरको वर्णन गर्दा किन पुरुषको सुन्दरताको वर्णन नगरिएको होला ?
लोग्ने मान्छेहरु सुन्दर हुन्छन् । तर कस्तो हुन्छ भने मैले लोग्नेमानिसको सुन्दता उनिहरुको बौद्धिकतामा देख्छु । सबैको सुन्दरता शरिरमा भन्दा मनमा हुन्छ, त्यसैले म पनि मनको सुन्दरता खोज्छु । तर पनि अनुहारको सुन्दरताको बारेमा पनि हामीले लेख्न सक्छौ । मेरो दुइ वटै किताब हुर्नु भयो भने पुरुषको सुन्दरताको विषयमा वर्णन गरिएको छ । पुरुषको प्रशंसा गरेर होस् पुरुषलाई फकाएका भाव भएका हुन् । अब छिट्टै मेरो अर्को कविता संग्रह आउँदै छ । त्यो किताबमा पनि पुरुष मनोविज्ञानका बारेमा लेखिएका कविता प्रसस्त हुनेछन् ।
पुरुषको बारेमा लेख्नका लागि अहिले सम्मको नेपाली समाज सक्षम छ कि छैन ?
अहिलेको अबस्था भन्दा पनि दुइ चार वर्षअगाडी सम्म नेपाली समाजले पुरुषका बारेमा लेख्ने वातावरण बनाएको थिएन । अब तपाईले तपाईको घरमा ल मलाई यो केटा मन पर्यो, म योसँग विबाह गर्छु भन्ने अबस्था विकास भएको छ । हो त्यतिसम्म भन्न सक्ने अबस्था भए पछि , मन पर्दैमा विबाह गर्नै पर्छ , प्रेम गर्नै पर्छ भन्ने छैन । कुनै राम्रो चिजको वयान गर्नका लागि उसँग नजिक नै हुनुपर्छ भन्ने छैननि । बाटामा हिड्दै गर्दा मलाई कोहि लोग्ने मान्छे मन पर्यो, सह्रै मन पर्यो त्यसका विषयमा लेख्ने कि नलेख्ने ? मन पर्दैमा उसँग नजिक हुनुपर्छ, रिलेसन बढाउनु पर्छ भन्ने होईन । सुन्दरताको अर्थ पहिला बुझ्न पर्यो अनि लेख्न जसरी पनि सकिन्छ ।
कविता नभएको भए के हुन्थ्यो होला ?
म सायद सुन्यहुन्थें होला । मेरो अर्थ हुदैन थियो होला जस्तो लाग्छ । मलाई म त कवितानै लेख्न जन्मेकी हुँ जस्तो लाग्छ । मेरा हातहरु कविता नै लेख्न बनेका हुन् जस्तो लाग्छ ।
घरमा तपाईको छोरो पनि छ , छोरा र कवितामा तुलाना गर्नुहुन्छ कि गर्नुहुन्न ?
पक्कै हुन्छ । गर्भवती भएको बेलामा जुन फिलिंगस् हुन्छ , ममत्वको त्यो अवस्थामा लेखिएका कविताहरुले अझ धेरै सफलता पाउँछ । वास्तविकता पाउँछ । कल्पना गरेर लेखेका भन्दा ति उत्कृष्ट पनि हुन्छन् । त्यो सुन्दापनि टप्प मनलाई छुन्छ । त्यस्तो अवस्थामा लेखिएका मेरा कथा निवन्ध कविताहरु छन् । उमेरको तह तहमा लेखिएका , विशेष बेलामा लेखिएका मेरा रचना प्रसस्त छन् ।
के कविताले दुनियाँ बदल्ने हिम्मत राख्छ ?
किन नराख्ने ! राख्छ नि । कविता मात्र होईन साहित्यले समाजमा रहेका विकृति विसंगति र सुन्दरताहरुलाई समाजका अगाडी ल्याएर देखाउँछ । यस्तो छ है अवस्था भनेर देखाउँछ । अं यसरी काम गर्नु पर्छ भन्ने वा सामधान खोज्न काम पनि गर्छ । साहित्यसँग मनको भावना, मनको नाता अत्यन्तै नजिक रहेको हुनाले पनि मान्छेले छिट्टै साहित्यलाई समाउँछ । त्यो एकदम मुलायम हुन्छ नौनि जस्तो । मेरो विचारमा साहित्य र समाज एक रथका दुइ पांग्रा हुन भन्ने लाग्छ ।
कविता सँधै परिवर्तका लागि त लेखिँदैन नि ?
परिवर्तनका लागि मात्र लेखिँदैन तर हामी सचेत श्रृजनाकर्मी भएको हुनाले समाजमा देखिएका सबै विषयमा कलम चलाउनु पर्छ न कि आफ्नो लागि मात्र , भावनाका लागि मात्र , भावनामा वहकिनका लागि मात्र , लेख्नका लागि लेख्न होईन यदि हामीले हामीलाई सचेत साहित्यकार भन्ने हो भने सामाजमा भएका राष्ट्रमा भएका विश्वमा भएका सबैकुरा हरुको अध्ययन गर्नु पर्छ । त्यसलाई विश्लेषण गरेर आएका निष्कर्षरुलाई लेख्नु भनेको एक सचेत साहित्यकारको काम पनि हो ।
युवा जेनेरेसनको मनपर्ने कवि को हुन् ?
कविकै कुरा गर्नु पर्दा मलाई मनुमन्जील जो इटहरीमा बसेर कविता लेख्नु हुन्छ , अत्यन्तै राम्रा कविता लेख्नु हुन्छ अत्यन्तै राम्रो वाचन शैलि , उहाँबाट म अत्यन्तै प्रभावित छु ।
सुरुमा कविता लेख्दा यसको कविता सुनेर कविता लेखेको भन्ने कोहि हुनुहुन्छ ?
त्यस्तो छैन । बरु यसो चाँहि छ , कविता मैले त्यसै लेखेँ । किनलेखेँ थाहा छैन कविता लेख्न आयो । चार कक्षामा पढ्दा मेरो देश भन्ने कविता लेखेकि थिए । के जानेको थियो होला र कसरी त्यो भाव मनमा आयो होला जस्तो जे जानेको थिए त्यहि लेखेँ । कम्पिटिसन छ स्कुलमा कविता लेख भने पछि यसै लेखियो । पछि त्यसमा मोह बढ्दै गयो सफलता पनि प्राप्त हुँदै गयो । स्कुल स्तरीयबाट माथि माथि गइयो । जति पटक भाग लिएँ, त्यसमा असफलता बेहोर्न पनि परेन । त्यसले गर्दा थप प्रेरणा पनि हुँदै गयो । जति ठूलो भइदै गइयो बौद्धिकता पनि बढ्दै गयो जस्तो लाग्छ । अध्ययनशिल भइयो, अध्ययन गरियो । पढाइ पनि अगाडी बढाइयो बिस्तारै कविता लख्नै पर्ने चिज रहेछ भन्ने लाग्न थाल्यो । प्रभावित भन्ने कुरा चाँहि मानिस पछि हुँदोरहे छ । पछि मैले कविता यो हो भन्ने जानेँनि ! कविता यो तरिकाको राम्रो हुनेरहेछ भन्ने जब मलाई महसुस भयो त्यस पछि मात्र प्रेरित भएँ म चाँहि । पहिला कसैको प्रेरणाले लेखिएको होइन लेख्दै गएपछि प्रेरणा चाहि भूपि बाट पाएँ । जाने पछि , मेरो बौद्धिकता बढे पछि , कविता बुझे पछि अनि यस्तो पो लेख्न पर्ने रहेछ भन्ने लागेको भूपिबाट हो । मान्छेहरु भन्छन् नि , म योबाट सुरुबाट नै प्रभावित भएर लेखेको म त्यो मान्दिन । उ पहिला आफैँ लेख्छ । जब उसले कविता बुझ्छ नि , अनिमात्र कसैसँग प्रेरित हुन्छ ।
पुनर्लेखन गर्ने गर्नुहुन्छ कि गर्नु हुन्न ?
आफूलाई सचेत कवि हुँ भन्छु मं। पहिला एक बसाइमा जस्तो भावना आउँछ त्यसलाई जस्ताको तस्तै उतार्छु । कुनै कुरा समाजलाई दिने भनेको त्यसलाई खारेर निखारेर परिष्कृत पारेर र त्यसले के सन्देश दिन्छ ? अनि मानिसले सुन्दा जस्ताको तस्तै मानिसले लिन सकुन । त्यसलाई मानिसले छाँटकाँट गरेर यो हो यो हेइन भन्न नपरोस् । हामीले दिने भनेको त्यस्तो हो । म कुनै पनि कुरा लेख्छु । श्रृजना गर्छु अनि आफैले पढ्छु । पढे पछि यो कुरा याहाँ निर मिलेन जस्तो लाग्छ । अनि फेरि दोस्रो पटक पढ्छु । अनि याहाँ नेर यो कुरा थप्न पर्ने रहेछ भन्ने लाग्छ । म चार पटक आफै स्रोता हुन्छु आफ्नो कविताको आफ्नो रचनाको । मलाई आफ्नो कविताको समिक्षक आफैँ बन्नु पर्छ भन्नेलाग्छ ।
विबाह अगाडीको शारिरक सम्बन्धको विषयमा तपाइको धारणा के छ?
विबाह अगाडी यौनको कुरा , देशकाल परिस्थितिसँग जोडिएर आउँछ । कुनै पनि देशको रितिरिवाज धर्म कर्म सस्कृति परम्परा अनुसार मानिसका आवश्यकता र अधिकारको कुरा आउँछ । यौनको विषयमा नेपाल एकदमै पछि परेको छ । विबाह अगाडी यौन सम्बन्ध राख्दैमा स्वतन्त्रता र अधिकारको कुरा आउँदैन । हाम्रो समाज कस्तो छ ? हामी कस्तो समाजमा छौं भन्ने पनि हेर्नु पर्छ । त्यसले कति सम्म पचाँउँछ यस्तो कुरालाई ? त्यसलाई कसरी बिस्तारै अगाडी बढाउन सकिन्छ ? त्यस्ता मान्यता अगाडी बढाउन सकिन्छ भन्ने कुरा चाँहि सहि हो । तथापि दुनियामा चलेको कुरा हो किन नहुने भन्ने कुरामा त उनिहरु त त्यसमा सिस्टमिक भइसकेका छन् नि ! हामीमा त्यसको विषयमा चेतनाको विकासनै भएको छैन । पहिला आफू शिक्षित हुनु पर्यो । अनि हाम्रो देश कस्तो संस्कारमा छ ? कस्तो रितिरिवाजमा छ ? कस्तो परम्परामा छ ? पहिला त्यो बुझ्नु पर्यो । हाम्रा बा आमाले अझै पनि कोठामा मूर्ती राखेर विहान बेलुका पुजा गर्नुहुन्छ । हामी त्यहि संकारका मानिस हौँ नि , हो हामी आधुनिक हौ । इमेल इन्टरनेटमा आफ्ना प्रेमि प्रेमिका खोजेर पनि बस्छौं । एउटै कोठामा अर्को पटि्ट बा आमा पुजा गरिरहनु भएको हुन्छ भने ति दुबैलाई अगाडी लिएर जाँदा के त्यो सम्भब छ त ? छैन नि । त्यसो भए पहिला बा, आमा हजुरबा, हजुरआमालाई ति कुरा विस्तारै भनेर बानि गर्न पर्यो नि । यस्तो हो है दुनिया यस्तो छ है भनेर भन्न पर्यो नि ।
-साहित्य लेखेर जिविका चलाउन सकिन्छ कि सकिँदैन ? अहिलेको साहित्य विश्वमा कुन स्थानमा छ ?
नेपाली परिपेक्षमा हेर्ने हो भने चाँहि सरकारले पनि साहित्य र संचारलाई हेर्नु पर्ने जति हेरेको छैन । साहित्य त हाम्रो संस्कृति रितिरिवाज , आर्थिक सामाजिक सबैकुरालाई साहित्यले जोडेको हुन्छ । कुनै पनि राष्ट्रको मेरुदण्ड हो साहित्य भन्नेलाग्छ मलाई । कुनै पनि विषयलाई साहित्यको माध्यमबाट संसार भरि फैलाउन सकिन्छ । सरकारले साहित्यलाई कयौं स्टेप पछि छोडेको छ । जबसम्म साहित्यलाई विकास गर्न सरकारले राम्रो कदम चाल्दैन तब सम्म साहित्यलेखेर खान पुग्ने अबस्था छैन । एउटा राम्रो साहित्य लेखिएपनि नेपाली बजार सानो छ त्यसलाई अरु भाषामा ट्रान्सलेट गरेर विश्व वजारमा पुर्याउनेकाम जब सम्म सरकारले गर्न सक्दैन तब सम्म हामीले लेखेर मात्र खान सक्दैनौँ ।
-अहिलेको युवा पुस्ताले विश्व साहित्य र नेपाली साहित्यको विचमा रहेको खाडललाई पुला?
दश वर्षअगाडी धेरै कुराहरु थाहा हुदैन थियो । संचारले अहिले दुनियाँलाई एकै ठाँउमा जोडेको छ । अहिले हाम्रो घरमा नै इमेल इन्टरनेट छ । हातमा मोवाइल बोकेको छ । त्यो मोवाइलबाट विश्वका कुनै पनि देशमा सिधै गफ एसएमएस गर्न सकिन्छ । अहिलेको शैक्षिक गतिविधि पनि राम्रो छ । एउटा रिक्सावालाले दिनभर रिक्सा चलाएर भएपनि छोरा छोरीलाई स्कुल पढाएको छ । अग्रेजी शिक्षा पनि अहिले राम्रो छ । विश्वसम्म साहित्य पुग्ने भनेको अग्रेजी हो जुस्को राम्रो विकास हुदै गएको छ । पछिल्लो पुस्ता बढी अध्ययनशिल पनि हुँदै गएको छ । त्यसले गर्दा दुनियाँमा कहाँ के भैरहेको छ ? कसले कस्तो किताब लेख्दै छ भन्ने पनि थाहा हुँदै छ भन्ने कुरा मा नेपाली युवा हरु सचेत भएका छन् । यसले गर्दा छिट्टै नेपाली साहित्य विश्व वजारमा पुग्छ भन्ने मेरो विश्वास छ ।
अहिले तपाई कुन किताब पढिरहनु भएको छ ?
अहिले पछिल्लो पछक म तसलिमा नसरिनको उत्ताल हावालाई नेपालीमा ट्रान्सलेट गरिएको रहेछु , उनको प्रारम्भिकलेखनका बारेमा लेखिएको एक उत्कृष्ट किताब रहेछ त्यहि पढिरहेकी छु ।