रामकुमारी झाक्री - अध्यक्ष , अनेरास्ववियु्
अनेरास्ववियु्को विसौँ राष्टिय सम्मेलनको मिति र समय तोक्नु भएछ । कहाँ र कहिले गर्ने हो ?
यहि असोज पन्द्र देखि अठार सम्म , मिथिला नगरि जनकपुरमा गर्ने निर्णय भएको छ ।
जनकपुर नै किन राज्नु भएको ह ो ?
हुन त सबै ठूला सहरहरुमा अनेरास्ववियुले सम्मेलन गर्दै आएको छ । अहिलेसम्म अनेरास्ववियुको राष्ट्रिय सम्मेलन नभएको ठाउँ मध्ये एक जनकपुर पनि हो । हुन त हामीले धनगढी नेपालगंजलाई पनि बनाउन सक्थ्यौँ । तर हामीले यसपटक अलि मधेश आन्दोलन , मधेश र पहाडबिचको विभेद , त्यसबाट श्रृजना भएका अफ्ठेराहरु यि सबैकुरालाई ध्यानमा राखेर हामी सबै मधेशको साथमा छौं र सबै मधेशीहरु सबैको साथमा हुनुहुन्छ भन्ने सन्देश दिन पनि सम्मेलन जनकपुरमा गरिन लागिएको हो ।
तपाई अध्यक्ष हुने समयमा प्रतिनिधि विवादका कारण सम्मेलन दुइ दिन स्थगित पनि भयो । यस पटक कसरी ब्यवस्थापन गर्दै हुनुहुन्छ ?
सम्मेलन भन्दा करिब दश दिन अगाडी सम्मेलनको पचास प्रतिशत काम सकिन्छ । त्यसकारण सम्मेलनमा कुनै त्यस्तो कुरा हुँदैन । हामी सबै कुरा हरुलाई सम्मेलन अगाडी नै टुङ्गाएर जान्छौँ ।
तपाई विद्यार्थी आन्दोलनकै पहिलो महिला अध्यक्ष हुनुभयो । महिला अध्यक्ष हुँदा कस्तो हुने रहेछ ?
महिला पुरुष जो भए पनि जिम्मेवारीबोधको कुरा हो , जिम्मेवारी लिने कुरा हो । तर महिला अध्यक्ष र इनजेनेरल पुरुष अध्यक्ष भएको संगठनमा कस्तो भयो भन्ने प्रश्न मं बाहेकका नेतृत्वमा नै रहेका अरु साथीहरुसँगै सोध्दा उपयुक्त होला । उहाँहरुले कस्तो अनुभुति गर्नु भयो ? तर मैले यो हाम्रो बन्द पितृसत्तामक समाजमा अनेरास्ववियु जस्तो गौरवशाली इतिहास भएको संगठनको नेतृत्व गर्ने मौका पाए । सम्भव त मेरो जिवनको महत्वपूर्ण क्षण हुँदै हो । अनि अनेरास्ववियुको इतिहासमा पनि यो नयाँ घटना भयो । मैले मेरो आफ्नो कार्यकालमा धेरै राजनीतिक संक्रमणकालमो बाबजुदमा पनि केहि उपलब्धिमुलक काम गर्न सके । हाम्रो केन्द्रिय कमिटिले सफलता पनि प्राप्त गर्यो । यि हिसाबले आम रुपमा महिला र पुरुष अध्यक्ष हुनु र नहुनुमा त्यति फरक महशुस भयो होला जस्तो लाग्दैन । तर म आफैले काम गर्ने सवालमा केहि अफ्ठेरा स्वभावैले भए । अहिले के भन्ने र धेरै नै छन पछि कुनै दिन भनौला , किताबै पनि लेखौला ।
जस्तो, तपाई महिला भएकै कारणले पनि साथिहरुले नै अफ्ठेरोमा पारे पनि भन्ने सुनिन्छ ? के भन्नु हुन्छ ?
म अनेरास्ववियुको विसौं राष्ट्रिय सम्मेलन सम्पन्न गरिसके पछि भनौला अथवा कुनै दिन लेखौला । आजै यि विषयमा मुख नखोलौ केहि सत्यता पनि छ ।
तपाई अध्यक्ष भएपछि गुटको राजनीति क्याम्पस कमिटि सम्म पुग्यो भन्छन् के भन्नु हुन्छ ?
गुटबन्दी केलाई भन्ने ? विचारको हिसाबले भन्ने हो भने त जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सिद्धान्त , जसलाई मार्गदर्शक सिद्धान्त नेकपा एमालेले मानेको छ , त्यसको पक्ष र विपक्षमा नेकपा एमालेमा पनि विवाद छैन । त्यो विवाद नभए पछि अनेरास्ववियुमा पनि राजनैतिक हिसाबले विवाद हुने कुरा भएन । हामी सबैले नेकपा एमालेसँग राजनैतिक सामिप्यता राखेको कुरालाई स्विकार गछौँ । नेकपा एमालेले मानेको जनताको बहुदलीय जनवाद मान्छौँ त्यसमा पनि विवाद भएन । त्यसो हुँदा फुटकर सन्दर्भ, ग्रुपहरु बनाएर काम गर्नु पर्छ भन्ने पनि लाग्दैन । साथीहरुले आफूलाई सजिलो बनाउनका लागि , अध्यक्ष भन्दा आफूले फरक खाले अभ्यास गर्नका लागि कोही कसैले गर्नु भएको छ । तलतल सम्म गएको छ भने मेरो जानकारीको विषय भएन ।
केन्द्रिय कमिटीको दोस्रो बैठक बस्न एक वर्षभन्दा बढी समय लाग्यो किन यति लामो समय सम्म नबसेको ?
एक वर्षभन्दा धेरैलागेको हैन । पहिलो बैठक बसेपछि स्ववियु निर्वाचनमा गयौँ । दोस्रो मिटिङ्ग बस्नुपर्ने बेलामा हामीलाई घनिभूत ढंगले स्ववियु निर्वाचन लागेको थियो । चैत्र ६ गतेबाट सुरु भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हामीलाई असार सम्म लाग्यो । कतिपय ठाँउमा त चुनाव गर्यौ तर परिणाम सार्वजानिक गर्न सकेनौँ । चुनाव भएका कतिपय ठाँउमा परिणाम सार्वजानिक गर्न एक डेढ महिना पनि लाग्यो । कतिपय ठाँउमा चुनाव स्थगित पनि भए । चैत्र ६ गतेबाट सुरु भएको स्ववियुको निर्वाचनको समय असारको अन्तिममा पनि चलिरहयो । हामीले चुनावमै श्रेष्ठता हासिल गर्नु पर्ने भएको कारणले हामी चुनावमा केन्द्रित भयौ । साउनको २६ २७ २८ गते केन्द्रीय कमिटिको बैठक तोकेका थियौ । त्यो भन्दा अगाडी स्ववियु काउन्सिलको राष्ट्रिय भेला पनि तोकेका थियौँ । ठिक त्यहि बेलामा लगातार परिक्षा पर्यो । परिक्षाका कारण साउनमा तोकेको केन्द्रीय कमिटिको बैठकलाई स्थगित गर्न पर्यो । त्यो परिक्षाको श्रृंखला दशैको अगाडी सम्म पुग्यो । त्यस पछि त हामीले तुरुन्तै बैठक गर्यौ । त्यसो गर्दा हामीलाई समय पनि लाग्यो । एकातिर हामीलाई स्ववियु निर्वाचन , नेकपा एमाले सैविधान सभामा तेस्रो पोजिसनमा पुगेको , हारको मनोविज्ञान , भर्खरै हामी सम्मेलनबाट आएका यि सबै कुराले गर्दा स्ववियु निर्वाचन हाम्रा लागि धेरै चुनौति पूर्ण थियो । हामीसँग साधन स्रोत थिएन । हामीसँग प्रसस्त पैसा छैन । पैसा जोडेर काम संचालन गर्न पनि हामीलाई अफ्ठेरो भयो । जसले गर्दा स्ववियु चुनावमा सबैले अर्जुन दृष्टि बनाएर लाग्यौँ । चुनाव पछि पनि लगातार परिक्षा पर्यो । हाम्रा केन्द्रीय सदस्य साथी हरुको औसत उमेर चौविस वर्ष छ । औसत साथीहरुले डिप्लोमा लेवलमा पढ्दै हुनुहुन्छ । डिप्लोमा पढ्ने धेरै साथीहरुको परिक्षा भयो । हामीले भर्खरै केन्द्रीय कमिटिमा आएका साथीहरु जसले कित केन्द्रिय कमिटिको बैठक छोड्न पर्यो या त पढाई छोड्न पर्यो । हामीले साथीहरुलाई दुइ मध्ये एक रोज भन्न सकेनौं । तर सतहमा बाहिर टिप्पणी गरिएका केहि कुराहरु जसलाई मान्छेहरुले कफि गफ पनि बनाएका छन् । केहि अफ्ठेराहरु स्वभावैले थिए । संगठनले गरेका निर्णय लाई कार्यान्वयन गराउन कठिन भएको थियो । ति अफ्ठेरा त छदै थिए र त्यस्ता अफ्ठेरा मेरो पुरै कार्यकाल भरि भईरहे । तर त्यो नै कारणले केन्द्रीय कमिटिको बैठक पर सरेको भने होईन ।
तपाईलाई त लोकतन्त्रको लागि लडेको योद्धा पनि भनिन्छ । संगठन भित्र चै तपाईले निरङ्कुस ब्यवहार देखाउनु भयो भन्छन् नि ? कसरी खण्डन गर्नु हुन्छ ?
म खण्डन नै त गर्दिन । एउटा लिडरसिप, म जुन मान्यताको लागि लडेर आएँ , मैले जुन मान्यताका लागि रगत बगाएँ , त्यो मान्यताका बिरुद्ध त म कसरी उभिन सक्छु र ? लोकतन्त्र भन्नु अराजकता र दण्डहिनता होईन । लोकतन्त्रको मान्यतामा जसले जे गरेपनि हुने , जसो गरे पनि हुने भन्ने बुझेको होईन मैले । र संगठनमा यो कुरा विधान, विधि, पद्धती, नीति कार्यक्रमलाई निसर्त मानेको मान्छे मात्रै अनेरास्ववियु हुन्छ भनेर हाम्रो विधानमा घोषित भएको कुरा हो । विधानमा भएको कुरालाई लागूगराउनका लागि नेतृत्वकर्ताका हिसाबले , संगठनको अध्यक्ष भएको हिसाबले त्यसको पहल कदमी त मैले लिनै पर्थ्यो । त्यस्तो पहल कदमी लिँदाखेरी कोही मानिसले गर्ने टिप्पणीहरु हुन यी । मेरो विचारमा उहाँहरुले लोकतन्त्रलाई सहि हिसाबले नबुझेको हो ।
तपाईको दुइवर्षको कार्यकालमा गरेका र पछि पनि तपाईलाई सम्झन लायक पाँचवटा राम्रा काम भन्नुस्न ?
किन पाँचवटा मात्र सयौं काम गरेका छौ नि हामीले । किन पाँचवटामा सिमित गर्ने ? मेरो दुइ वर्षको कार्यकालको मुल्यांकन मैले भन्दा अरु साथी हरुले नै गर्ने हो नि । म दावाका साथ भन्छु , म महिला भएको कारणले मेरो कार्यकाल कमजोर थियो भन्ने इतिहास म राख्न चाहन्न । महिला भए पनि उल्लेखनीय काम भएको छ । संगठनले उल्लेखनिय प्रगति गरेको थियो भन्ने बनाएकी छु । म यो कुरालाई घमण्डका साथ भन्छु । यो संगठनमा , राजनीतिमा, विचारमा प्रतिस्पर्धामा र परिणाम लगायत सबै कुरामा ।
अखिलको अध्यक्ष भएपछि पुरा गर्छु भन्ने लागेको र पुरा गर्न नसकेको कुनै कुरा छ ?
अँ मैले प्रतिबद्धता ब्यक्त गरेको र पुरा गर्न नसकेको त अरु धेरै कामहरु होलान् । तर ति मध्ये धेरै महत्वपूर्ण काम संगठनको संरचनालाई महासंघीय ढाँचामा लाने । त्यसको खाका सहितको प्रारुप तयार पार्ने भन्ने कुरा १९ औ सम्मेलन अगाडी विधार्थी साथीहरुको अगाडी मैले जुन कमिटमेन्ट गरेकी थिएँ , आजको दिन सम्म त्यसको प्रारुपका लागि केहि अर्थपूर्णकाम गर्न सकिएको छैन । सम्भवत २० औ राष्ट्रिय सम्मेलनको विधानमा राख्ने म अहिले पनि कमिट मेन्ट गर्छु । अलिकति इतिहासमा पनि अल्ली फरक कुरा ४५ / ४६ वर्ष अगाडी स्थापित भएको संगठनको मोडालिटिको बारेमा ब्यापक फेरवदल गर्ने कुरा थियो । त्याहानेर हामीले गर्न पर्ने पनि थियो । अहिले सम्म गरेनौ । सम्भवत विसौं राष्ट्रिय सम्मेलनमा यो प्रस्ताव लान्छौँ । आजका मिति सम्म यो काम बाँकी छ । मेरो कार्यकालमा नै यो काम पुरागर्ने अझै पनि प्रतिबद्धता छ ।
अनेरास्ववियुले प्रमाण पत्र तह फेजआउट गर्नुपर्छ भन्ने मत जाहेर गर्दै आएको छ । तर विधार्थी संगठनहरुको नेतृत्व गर्ने नाममा चै फेज आउट गर्न हुँदैन भन्दै आएको छ भन्छन् नि के हो ?
गतवर्षपनि प्रमाण पत्र तह फेजआउट नगर भन्ने हाम्रो माग थिएन । प्रमाण पत्र तह विश्वविधालयबाट फेज आउट गर्दा यसको विकल्प देउ भन्ने हाम्रो माग हो । एक वर्ष प्रमाणपत्र तह सन्चालन गर्नुस् । यसको विकल्पको रुप तयार गर्दै राज्यले सरकारी तबरबाट प्लसटुहरुलाई लगानी गर । कम्तीमा एउटा निर्वाचन क्षेत्रमा एउटा प्लस टु र सामान्य विषय पढाईने प्लसटु र एउटा जिल्लामा एउटा विज्ञान पढ्ने प्लस टुको ब्यवस्था गर भनेका थियौ । केहि विकल्पको बारेमा पनि हामीले भनेका थियौ । त्यहि अनुसार गतवर्षको वजेटमा सरकारले ब्यवस्था त गर्यो । वजेट छुट्टायो । तर त्यसको कार्यान्वयनका केहि समस्याहरु रहे । अहिले पनि करिब सत्रसय सार्वजानिक प्लस टु हरु छन् । हाम्रो माग अहिले पनि के हो भने पिसिएललाई निरन्तर त्रि विमा पढाउ भन्ने होईन । बिस वर्षअगाडी, दश वर्षअगाडी अनेरास्ववियुले प्रमाण पत्र तह खारेज गर्न हुँदैन भन्ने पक्षमा लड्यो । गएको वर्षपनि प्रमाण पत्र तह खारेज गर्दा विकल्प देउ भनेर लड्यौँ । अब प्लस टु विध्यालयको शिक्षा हुँदैछ । सन् २०१२ बाट प्लस टु लाई विध्यालयको शिक्षाका रुपमा स्थापित गरिँदैछ । विध्यालय शिक्षा राज्यको अनिवार्य दायित्व भित्र पर्छ । अनि बाह्र कक्षा सम्म सरकारले लगानी गर्नु पर्छ भन्ने हाम्रो माग हो । पिसिएल भन्नेकुरा अहिलेको दुनियामा कहिँ पनि छैन नेपालबाहेक । यो फेज आउट छ हुन्छ नै । हिजो हामीले विकल्प खोजेका थियौँ । आज १२ कक्षा सम्म पूर्णतया सरकारले लगानी गरोस् भन्ने चाहन्छौँ । हाम्रो माग पनि यहि छ । हाम्रो देशको जनशक्ति अन्तराष्ट्रिय बजारमा प्रतिस्प्रधा गर्ने , हाम्रा सर्टिफिकेट अब अन्तराष्ट्रिय बजारमा बिक्न सक्ने बन्नु पर्यो । त्यसकारण अन्तराष्ट्रिय समानताको लागि पनि हनुपर्यो । त्यसैले अहिले हामी प्रमाण पत्र तहको पक्षमा छैनौँ । सर्बसुलभ ढंगले प्लस टुमा जनताका छोरा छोरीले पढ्न पाउनका लागि सरकारले लगानी गरोस् भन्ने पक्षमा छौं ।
विधार्थी राजनीति भन्दा अल्ली पर राष्ट्रिय राजनीतिलाई कसरी हेर्नु भएको छ ?
यो संक्रमणकाल साह्रै कष्टसाध्य भएको छ । हामी कहाँ जाँदै छाँ ? - हामीले गरेका प्रतिबद्धताहरु कहाँ गए ? सान्ति प्रकृया टुङ्गिन्छ कि टुङ्गिदैन ? सान्ति प्रकृया नटुंगिकन संविधान बन्दैन । संविधान नबन्दा सम्म हामीले लडेर ल्याएको गणतन्त्र संथागत हुँदैन । यो अबस्था हिजो सँगै संकल्प गरेका प्रतिवद्धता ब्यक्त गरेका राजनीतिक दलहरुले किन बिर्से ? मलाई यस्तो लाग्छ यो संक्रमणकाल असाध्यै कष्टपूर्ण छ । अहिले ठ्याक्कै के हुन्छ भनेर भन्ने अबस्था नै छैन । बहुमतीय बिधिबाट बनेको सरकारले राजीनामा गरेको छ । अब सहमतीय आधारमा नयाँ सरकार बन्ने अबस्था पनि देखिँदैन । बहुमतीय विधिबाट बनेको सरकारले पनि समस्यको समाधान दिँदैन । त्यहि कारणले हाम्रो माग यो संक्रमणकालबाट छिट्टो मुलुकलाई मुक्त गराउनकालागि, विधिको सासनलाई स्थापित गराउन , आर्थिक सामाजिक रुपान्तरणको कामलाई अगाडी बढाउन , जारि सान्ति प्रकृयालाई टुंगो लगाई संविधान निर्माण गर्नका लागि राष्ट्रिय सहमतिकै सरकार बनाउन पर्छ भन्ने माग हो र हामी अनेरास्ववियु नेकपा एमालेलाई र अरु पार्टीलाई पनि भन्छौ बहुमतिय विधिमा नजनुहोस् । सहमतिय विधिमा सरकार बनाउनुहोस् । जो जसको नेतृत्वमा बनाए पनि हामीलाई आपत्ति छैन । नेकपा एमालेलाई हामी बहुमतीय विधिमा बनेको सरकारलाई सहयोग समर्थन , नेतृत्व नगर्न अनुरोध गर्छौं । सहमतीय विधिबाट मात्र अगाडी बढ्न हामी आग्रह गर्र्छौ ।
त्यसको लागि तपाईको भूमिका के हुन्छ त ?
हामीले दवाब दिने हो ।
विबाह गर्नु भएको छ , कस्तो छ ?
ब्यक्तिगत जीवन रमाईलो छ । संगठनमा राष्ट्रिय सम्मेलन नजिक आउँदै छ । कामको प्रेसर छ । तनाव छ । ब्यस्तता बढी छ ।
अनेरास्ववियुबाट विदा भए पछि धेरै समय पशुपती पुरीलाई दिने कि एमालेलाई दिने ?
अब सम्मेलन पछि म आफ्नो ठाँउमा जहाँ हुन्छ, जहाँ मैले जीवनको महत्वपूर्ण समयलगाएँ, जेका लागि लडेँ त्यसकोलागि मं निरन्तर लागिरहन्छु । पशुपती जी मेरो जीवनको महत्वपूर्ण पाटो हो । उहाँसँग त म अधिकाँस समय रहन्छु , धेरै थोरै भन्ने नै हुँदैन । उहाँसँगको समय छुट्टैहो मेरो सामाजिक जिवनको पाटो छुट्टै हो । आजसम्म सामाजिक जिवनमा जुन समय लगाएकी छु अब पशुपती जीलाई लगाउनु पर्छ भन्ने मलाई लाग्दैन । त्यो जरुरी पनि छैन ।
प्रस्तुति: नारायणी देवकोटा