झलनाथ खनाल - अध्यक्ष, नेकपा एमाले
० प्रधानमन्त्रीबाट उम्मेदवारी फिर्ता लिईसकेपछि संसदको बैठकमा टेलिभिजनमा आएको तपाईको अनुहार हेर्नु भएको भए तपाई एकदम दुखी देखिनुहुन्थ्यो आँखावाट आँशु झर्लाजस्तै , रुनै लागेको जस्तै देखिएको थियो नि ?
- यो मान्छेको नजरिया हुन सक्छ । यो देशमा राष्ट्रिय सहमति निर्माण गर्नका लागि हामीले त्यतिखेर अरु दुइ घन्टा समय लिन पाएनौं । तपाईले देख्नु भो फेरि पनि प्रधानमन्त्रीको चुनाव भयो , त्यो निर्वाचन हुँदा ११ बजे हुनुपर्नेमा राती सात वजे भयो । तर , मेरो पालोमा दुइ बजे हुनुपर्ने दुइ बजे नै सुरु भयो । दुइ बजे नै सुरु गर्दा पनि झण्डै दुइ तिहाइ बहुमत आयो ।
० तपाईले जहिले पनि माधवकुमार नेपालले राजिनामा दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्छ भन्नुभयो तर , राष्ट्रिय सहमतिको सरकार बनेन अहिले त सरकार नै नभएको गम्भीर अवस्था छ , यसलाई तपाईले कसरी हेरिरहनु भएको छ ?
- मेरो अहिले पनि विश्वास छ कि राष्ट्रिय सहमतिको सरकार बन्छ , र त्यो सरकार बनाउनका लागि मेहेनत गर्नुपर्छ । नेकपा एमालेले त्यो मेहेनत गर्दैछ , त्याग गर्दैछ । त्यसैगरी अरु पार्टीलेपनि राष्ट्रिय सहमतिको सरकार बनाउन लाग्नुपर्छ । राष्ट्रिय सहमतिको सरकार अनिवार्य छ । राष्ट्रिय सहमतिको सरकार नबनाउनुको अर्थ के हुन्छ भने शान्ति र संविधान हुदैन । शान्ति र संविधान बनाउने हो भने राष्ट्रिय सहमतिको सरकार अनिवार्य छ । हामी सबैले त्यो वाटो हिंड्नुपर्छ ।
० कहिलेसम्म बन्छ त ?
- अहिले पनि हाम्रासामु अवसर छन् । अवसरवाट हामी बन्चित भएका छैनौं । त्यो अवसरलाई चिन्न , बुझ्न र उपयोग गर्न सक्नुपर्छ । अव १७ गतेसम्म जुन चुनावको अवधी छ यो वीचमा पनि सहमतिका संभावनाहरु छन् । यो समय पनि अनमोल छ र मैले सबै राजनीतिक पार्टीलाई हार्दिक रुपमा आग्रह गरिरहेको छु , हामी खाली कुर्सी र पदको मोहमा नफसौं । हामी सिंहदरवारमा प्रधानमन्त्री भएँ भन्ने नक्सा झुण्ड्याउने मोहमा नफसौं ।
० यो सुन्दा आदर्शवादी कुरा भयो तर , संसदीय राजनीतिमा निश्चतै रुपमा बहुमतीय प्रतिस्पर्धा हुन्छ त्यसमा तपाईहरुले सहमति जनाउँदा के हुन्छ ?
- हामी पूर्ण रुपले संसदीय ब्यवस्थामा गएका छैनौं । हामी अहिले संक्रमणकालमा छौं । संसदीय राजनीति र संसदीय ब्यवस्थामा गइसकेका छैनौ , संविधान बनाउने पक्षमा छौं । त्यो बन्ने संविधानले के भन्छ , देशमा संसदीय राजनीति हुन्छ कि राष्ट्रपतीय शासनप्रणाली हुन्छ वा कस्तो राजनीतिक प्रणाली रहन्छ । कस्तो पद्दतिवाट देश अगाडी जान्छ भन्ने कुरा टुंगोमा पुगेको छैन । हामी संक्रमणकालमा छौं भन्ने कुरा बुझेर नेपालका राजनीतिक शक्तिहरुले अगाडी बढ्नुपर्छ ।
० अहिलेको काम चलाउ कहिलेसम्म कायम रहन्छ ?
- काम चलाउ भनेको कुरा नै एउटा क्षणिक अवधीका लागि हो । यो जति लम्बिन्छ देश त्यति दुर्भाग्यतिर जान्छ । यो कुरा झलनाथ खनालले मात्र बुझेर हुँदैन यो कुरा सुशील कोइराला , प्रचण्डले बुझ्नु पर्यो । देशका राजनेताले बुझ्नुपर्यो । अनि हामी एउटा निश्कर्षा पुग्न सक्छौं ।
० अवको चुनाव हुँदा एमालेको भूमीका के हुन्छ ?
- हामी राष्ट्रिय सहमतिको ढोका खोलेर बस्छौं । अहिलेको अवस्थामा हामीले जुन निर्णय गरेका छौं , हाम्रो तटस्थता कायम रहन्छ , यदी चुनाव भइनै हाल्यो भने । तर , चुनाव हुनुभन्दा अगाडि नै सहमतिमा पुर्याउन आफ्नो तर्फबाट भूमिका खेल्छौं ।
० तटस्थ रहने कहिलेसम्म ? यही काम चलाउ सरकार कायम रहन दिने ?
- त्यो निर्वाचनको प्रक्रियाबाट बहुमतीय सरकार बनाउनुको अर्थ देशलाई मृत्युकुण्डतिर पुठाउने कुरा हो । किन देशलाई मृत्युण्डतिर पठाउन हतारिनु पर्यो ?
० सहमति बन्ने स्थिति छैनभने माधवकुमार नेपाललाई राजिनामा दिनु पर्छ राजिनामा दिनु पर्छ किन भनेको ?
- हाम्रो पार्टी सहमति हुँदैन भन्ने टुंगोमा कहिल्यै पुगेन । सहमतिको सम्भावना जहिले पनि हुन्छ , अहिले पनि छ । राजनीतिक पार्टीले घुँडा धसेर त्यसमा प्रयत्न गर्नुपर्छ । यो देशका आम जनता सहमति चाहन्छन् , सिंगो अन्तराष्ट्रिय जगत सहमति गर भनिरहेको छ । प्रवासमा रहेका बीसौ लाख नेपाली सहमति गर भनिरहेका छन् । हामी किन गर्न सकिरहेका छैनौ ? कुन पार्टीको कुन ब्यक्तिको निहित स्वार्थका कारण हुन सकिरहेको छैन । त्यो प्रश्नमाथि हामीले छलफल गर्नुपर्छ । नेपाली जनताले आवश्यक पर्यो भने आन्दोलन गर्नुपर्छ । मुलुकलाई सहमतिमा ल्याएर छोड्नु पर्छ ।
० कुन पार्टीको कुन ब्यक्तिको स्वार्थले यस्तो भयो होला भन्ने कुरा त तपाईलाई नै बढी थाह होला नि ?
- नेपाली जनताले यो कुरा थाह पाउने अवस्था आउँछ । अवश्य पनि हामीलाई पनि थाह छ , कुन राजनीतिक पार्टीको के धारणा र दृष्टिकोण छन् भन्ने कुरा हामीलाई पनि थाह छ । तर , म के चाहन्छु भने टेबुलमा बसेर छलफल गरौं । आफ्ना आफ्ना जुन दृष्टिकोण छन् त्यो राखौं मिलेर जाने कुरा छन् त्यो पनि राखौं र सहमतिको आधार के हो ? शान्ति र संविधान यो राष्ट्रको मिसन हो कि होइन ? प्रत्येक पार्टीका नेताहरुले बोल्न सक्नुपर्यो । राष्ट्रको मिसन हो भने त्यो मिसनमा दृढतापुर्वक उभिनु पर्छ । त्यो मिसन पूरा नभएसम्म सहमतिको सरकार बनाउनु पर्यो , मिसन पुरा गर्न संविधान बनाउनु पर्यो ।
० यो कुरा तपाईबाट मात्र होइन सबै दलका प्रमुख नेताहरुवाट हामीले सुनेको वर्षौं भइसक्यो अनि तपाईले भन्दा कसले पत्याउने ?
- यो वर्षौं भइसके पनि तपाईहरु कुनै पनि दलका नेताहरुलाई अहिले पनि सोध्नोस् कुन पार्टि के अडान लिएर बसिरहेको छ सबैलाई थाह छ । मैलेजस्तै सबैले बोलेका भए सहमति भइसक्थ्यो । मैलेजस्तो बोलिरहेका छैनन् भन्ने मलाई लाग्छ ।
० तपाईकै पार्टीका वरिष्ठ नेता केपी शर्मा ओलीले सत्रगते सान्दार ह्याट्रिक हुन्छ भन्नु भयो , यो भनेको के हो ?
- कुनै पनि प्रतिस्पर्धामा पहिलो पल्ट , दोस्रो पल्ट र तेस्रो जीत या हार हुने कुरालाई ह्याट्रिक भनिन्छ । अहिलेका नेताहरु त्यो ह्याटि्रक गर्न तयार छन् कि छैनन् ? त्यो उहाँहरुको कुरा हो । मेरो अनुरोध के छ भने यो ह्याट्रिक गरेर पुरुषर्थ प्रदर्शन नगरौं । राष्ट्रिय सहमतितर्फ जाउँ राष्ट्रिय सहमतिको बाटो खोजौं ।
० तीनसय ९१ मत प्राप्त गर्दा पनि अहिले हारेको सिपाहीजस्तो हुनुभएको छ देशलाई तपाईको क्षमता र दृष्टिकोणको आवश्यकता छ ?
- मलाई हारको महसुस भइरहेको छैन । म जितको महसुस गरिरहेको छु । र यो पर्शनल जित होइन नैतिक मुल्य र मान्यताको जीत हो । राष्ट्रिय सहमतिको भावनाको जित हो । तपाईले भनेजस्तै तीनसय ९१ भनेको करिव करिव दुइ तिहाई बहुमत नै हो । तथापि म प्रधानमन्त्री बनिनँ । तर , यसले सबैका ठाउँमा के प्रश्न उठाइदिएको छ भने , यतिवेला नेपाली राजनीतिमा सबैले राष्ट्रिय सहमति नगरी अगाडी बढ्न सकिन्न । किन भने अहिले सरकार बनाउने , प्रधानमन्त्री को बन्ने भन्ने प्रश्न होइन । प्रधानमन्त्री किन बन्ने भन्ने प्रश्न हो । त्यो किन भनेको के हो भने शान्ति र संविधान बनाउनुपर्ने आवश्यकता छ त्यो सबैको साझा कुरा हो । एमालेको मात्रै कुरा होइन यो । माओवादीको मात्रै पनि होइन , कांग्रेसको मात्रै पनि होइन अरु कसैको मात्रै पनि होइन , सबैको हो । सबैको साझा कुरा भएका हुनाले यतातिर जाउँ भन्ने कुरालाई मैले जबर्जस्त संकेत गरेको हुँ ।
० दुइ ठाउँमा हारेको प्रधानमन्त्रीभन्दा तपाँई झण्डै दुइ तिहाइ आएको ब्यक्ति किन प्रधानमन्त्री बन्नु भएन ? फिर्ता किन लिनु भयो ?
- चारसय एक सभासदको हस्ताक्षर सहितको लिखित समर्थन प्राप्त भयो भने नेकपा एमालेले प्रधानमन्त्रीको लागि उम्मेदवारी दिनुपर्छ भन्ने कुरा पार्टीको बैठकमा आयो । मैले त्यो कुरालाई पार्टी भित्र स्वीकार गरेँ । बहुमतीय ढाचाबाट अगाडि बढ्यो भने यो मुलुक पार लाग्न सक्दैन ।
० पार्टीभित्र चारसय एकको समर्थन रह्यो भने मात्र तपाई प्रधानमन्त्री हुने भन्ने कुरा कहाँबाट आयो ? तपाईवाट हो कि अरुवाट ?
- यो केन्द्रीय कमिटीवाटै आयो त्यसरी ब्यक्तिको नाम नलिउँ ।
० केपी ओलीसंग कुरा हुँदा त तपाईले राखेको भन्नुहुन्छ नि ?
- विल्कुल गलत कुरा हो । केन्द्रीय कमिटीले राख्यो त्यसलाई मैले स्वीकृति दिएँ । केन्द्रीय कमिटीमा एकमतले पारित गरेको कुरा हो ।
० तपाईको इच्छा चाही बहुमतै मात्रै आए पनि प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने थियो ?
- त्यसो पनि होइन , हामी राष्ट्रिय सहमतिमा जाउँ भन्ने हो । सुरुदेखि म निरन्तर राष्ट्रिय सहमतिको प्रवक्ता हुँ । राष्ट्रिय सहमति विना मुलुक अग्रगतिमा जान सक्दैन भन्ने मेरो दृढ विश्वासका आधारमा पार्टीले ठीक छ चारसय एकको प्रयत्न गर्नुपर्छ राष्ट्रिय सहमतिको मार्ग प्रशस्त गर्नुपर्छ भनेर स्वीकार गरेको हो । तर , त्यो पुगेन , नपुगेपछि स्वभाविक रुपमा फिर्ता लिएर हामीले के प्रदर्शन गरेका छौं भने हामी चारसय एक मात्र होइन छ सय एककै सहमति निर्माण गर्नुपर्छ भन्ने सन्देश दिएका छौं । यो बनाउन पनि सकिन्छ असम्भव कुरा होइन , यदि शान्ति र संविधानको इच्छाशक्ति हामीसँग छ भने ।
० सामान्यताया कम्युनिस्ट पार्टीका अध्यक्ष शक्तिसाली हुने गर्दछन् , तर , तपाई दलभित्र निरिह हुनुहुन्छ भन्छन् नि ?
- विल्कुलै होइन । नेकपा एमाले आठौं राष्ट्रिय महाधिवेशनको निर्णयलाई लागु गर्ने कुरामा दृढतापूर्वक अगाडि बढेको छ । स्वभाविक रुपमा हाम्रो पार्टीभित्र पनि केही समस्याहरु देखा परेका छन् , यो कुरालाई म स्वीकार गर्छु ति समस्याहरुले कतिपय वाधा ब्यवधान खडा गरेका छन् । तर , वाधा व्यवधान हटाउँदै , व्यवस्थापन गर्दै एमाले दृढतापूवक अगाडि बढेको छ । यस कारण अहिले राष्ट्रिय सहमति निर्माण गर्ने कुरामा पनि नेकपा एमाले खम्बा बनेको छ ।
० तपाईले आफ्ने पार्टीको प्रधानमन्त्रीको विरोध गर्नुभयो , राजीनमा माग्नुभो भन्ने आरोप छ नि ?
- पहिलो कुरा के हो भने माधव नेपालको सरकारको अवधीभरी मैले सरकारको कुनै दिन पनि विरोध गरेको छैन । यो सरकार बहुमतीय भए पनि आफ्नो ढंगले काम गर्छ । मैले निरन्तर राखेका कुरा यिनै हुन् । यो कुरा सरकारको विरोधी होइन । यसलाई कसैले विरोधका रुपमा लिन्छ भने गलत हुन्छ ।
० त्यसो भए सरकारमा नआउने माओवादीलाई तपाईले किन दावाव दिनुभएन ?
- मैले निरन्तर जुन दवाव दिएँ । राष्ट्रिय सहमतिको पक्षमा भनेको छु , त्यो नेकपा माओवादीलाई पनि हो । माओवादीलाई त झन् हामी भनिरहेका छौं । तपाई लडाकुको ब्यवस्थापन गर्नुस् , सम्पत्ती फिर्ता गर्ने काम गर्नुस् , वाइसीएको व्यवस्थापन तुरुन्त गर्नुस् र ब्यारेकीय संरचनाम तोड्नुस् आदिलगायत कुराहरु हामीले निरन्तर भनिरहेका छौं । त्यसैगरी नेपाली कांग्रेसका साथीहरुलाई पनि भनेका छौं सहमतिमा पुगौं , सहमतिका आधारमा निर्णय गरौं ।
० माधवकुमार नेपाले त मलाई आफ्नै पार्टीबाट असहयोग भयो भन्नुहुन्छ नि ?
- मलाई थाह छैन उहाँले किन भन्नु भयो , यो माधवकुमार नेपाललाई नै गएर सोध्नुपर्छ । तर , नेकपा एमालेले उहाँलाई निरन्तर रुपमा सहयोग गरिरहेको हो । अझ राष्ट्रिय सहमतिको दिशातिर अगाडी बढ्न सहयोग गरिरहेको हो ।
० तपाई संसदीय दलको नेता हुनुहुन्थ्यो , संविधानसभाको चुनाव जित्नुभएको थियो , पार्टीमा अध्यक्षको चुनाव जित्नुभएको थियो यति हुँदा हुँदै पनि आफू प्रधानमन्त्री नभएर चुनाव हारेको मान्छेलाई ल्याएर प्रधानमन्त्री बनाउदाखेरी भित्र मन दुखेको अभिब्यक्ति त होइन?
- विल्कुलै होइन , यो चाँहि के अभिब्यक्ति हो भने नेकपा एमालेको अध्यक्ष झलनाथ खनाल आम रुपमा राष्ट्रिय सहमति मात्र होइन पार्टीभित्र पनि सहमति चाहन्छ । दुइदुइ ठाउँमा हारेको साथीलाई संविधानसभाको सदस्य बनाएर समेत प्रधानमन्त्री बनाउने क्षमता राख्छ । यो सहमतिको लागि हो , अग्रगमनको लागि हो । अहिले मैले जसरी तीनसय एकानब्बे पाउँदा छोडेको छु यिनै श्रृंखलाहरु मिलेर यो सबै गरेको हुँ ।
० तपाई आफैंले हालेको जालमा आफैं पर्नु भएको त होइन ? सहमति सहमति भन्दै आउनु भो अन्तिममा बहुमत स्वीकार गर्नु भो भने त आफ्नो जालमा आफैं परिन्छ ?
- एउटै चिजलाई विभिन्न ठाउवाट हेर्दा भिन्न देखिन्छ , कहिले त्यही घटनाक्रमलाई हामी रातको रुपमा देख्छौं कहिले दिनको रुपमा देख्छौं । हेराईको कोण फरक परेर मात्रै हो । तपाईले हेर्दा यस्तो देख्नुभो तर , मैले हेर्दा के देख्छु भने यो राष्ट्रलाई शान्ति र संविधान निर्माण गर्ने मिसनतर्फ अगाडि बढाउ भन्ने ब्यग्रताको अभिब्यक्ति हो भन्थें ।
० त्यसो होइन भने केपी ओली र माधवकुमार नेपालले शान्ति र संविधानको अभिब्यक्ति किन नसुन्नु भएको होला त ?
- सुन्ने र नसुन्ने कतिपयले गरिरहनुभएको छ त्यो कुरा हाम्रै पार्टी भित्र छलफल गरौंला । तर , कुनै पनि ब्यक्ति उहाँहरुले मात्र होइन जसकसैले पनि बाटो देखाउनुपर्यो , राष्ट्रिय सहमतिको । शान्ति र संविधान बनाउने वाटो के त ? अहिले नै हामीले भन्नुपर्यो हामी कमजोर सांधमा उभिएका छौं । शान्ति र संविधानतर्फ जाने हो भने राष्ट्रिय सहमति अपरिहार्य छ दुर्घटना र अधोगतितिर जाने हो भने बहुमतीय ढाँचामा गए पनि भयो ।
० तपाईले तीनसय एकानब्बे सांसदको जुटाउदा खेरी माओवादीले तपाईलाई अगाडी बढाए , कांग्रेसले तपाईलाई समर्थन गर्ने अवस्था थियो भन्ने सुनियो , सहमतीय सरकार बन्ने अवस्था हुदा हुदै पनि तपाईकै साथीहरुले असहयोग गरेको देखियो यसरी हेर्दा त तपाईहरु भित्र ठूलै समस्या छ भन्ने देखिन्छ नि ?
- यस्ता खालका समस्या छन् भन्ने प्रतिबिम्ब विभिन्न ठाउमा देखियो । त्यो प्रतिबिम्बलाई के - के कहाँसम्म के के क्रियाहरुको यथार्थको प्रतिबिम्ब हो भन्ने कुरा पार्टीभित्र र आफैभित्र हेर्नुपर्छ । हामीभित्र समस्या छन् भने हामी पार्टीभित्र हेर्छौं । पार्टी भित्र समीक्षा होला , त्यसवेलाका घटनाक्रमहरुवारे सबै कमरेडहरुले अध्ययन गर्नुहोला । के ठीक , के बेठीक कसरी घटनाक्रम अगाडि बढे भन्ने कुराहरु मैले यो मञ्चवाट धेरै टिप्पणी गुर्न आवश्यक ठान्दिन ।
० राष्ट्रिय सहमति निर्माण गर्न तपाईकै पार्टीबाट गाह्रो हुन्छ कि कांग्रेस माओवादीवाट ?
- राष्ट्रिय सहमतिको मुद्दा साझा हो , हाम्रो पार्टीभिभत्रवाट पनि यसलाई चुनौती दिनु आवश्यकता छैन र अरु पार्टीबाट पनि आश्यकता छैन । म कांग्रेस र माओवादीका नेताहरुसंग कुरा गर्दा सधैभरी राष्ट्रिय सहमतिको कुरा गरिराख्नु भएको हुन्छ । तीन पार्टीले छ वटा मुद्दामा हामीले छलफल गरेका थियौं , हामी करिव करिव टुंगोमा पनि पुगेका थियौं । त्यो धेरै राम्रो कुरा थियो । त्यसरी नै हामीले गम्भीरतापूर्वक तीन पार्टीबसेर छलफल गर्यौं भने हामी राष्ट्रिय सहमतिमा पुग्छौं । अरु ठाउँबाट आएका चुनौतीको ब्यवस्थापन गर्न सकिन्छ ।
० तपाईकै पार्टी उपाध्यक्ष विद्या भण्डारीले कांग्रेस एमालेको पुरानै गठबन्धन रह्यो भने नयाँ प्रधानमन्त्री हुन सक्छ नभए यही सरकारले निरन्तरता पाउँछ भन्नुभएको छ यो एमाले आधिकारिक धारणा हो ?
- जवसम्म नयाँ सरकार बन्दैन तवसम्म स्वभाविक रुपले यो काम चलाउ सरकार रहन्छ । केही लामो हुन सक्छ केही छोटो हुन सक्छ । तर , राजिनामा दिइसकेपछि त्यही सरकारले निरन्तरता पाउछ भन्ने कुरा संविधानमा कहीं छैन । यो कुरा सम्भव पनि छैन । त्यसो गर्नु पनि हुँदैन । त्यो प्रजातन्त्रिक पनि हुँदैन । सरकार नयाँ ढंगले बनाउनु अनिवार्य छ र बहुमतीय ढाँचाले त संभव छँदै छैन । एमाले अव बहुमतीय ढाचावाट अगाडी जान तयार छैन ।
० केपी ओलीले त कांग्रेसलाई समर्थन गर्नुपर्ने कुरा गरिरहनु भएको छ नि ?
- यो उहाँको निजी विचारको कुरा हो । तर , म एमालेको तर्फबाट के भन्न चाहन्छु भने नेकपा एमाले यो काल खण्डमा अव राष्ट्रिय सहमति बनाउन सकियो शान्ति र संविधान बन्यो । सहमति बनेन भने शान्ति र संविधान बन्दैन । त्यस कारण शान्ति र संविधान नबनाउने र मुलुकलाई दुर्घटनातिर लाने कुरामा एमाले सहमत हुन सक्दैन ।
० तपाईले यसो त भन्नु भो तर , तपाईको केन्द्रीय कमिटीमा तपाईको बहुमत छैन भनेर भन्छन् अनि अरुको कुरा हावी होला नि ?
- म यो दुनियाँमा कुनै माइकालाल छ , जसले नेकपा एमाले केन्द्रीय कमिटीमा झलनाथ खनाल अल्पमतमा छ भन्छभने त्यो पुष्टि गर्न म खुला चुनौति दिन्छु ।
० तर , अर्को चुनावसम्म एमालेले के निर्णय गर्छ कांग्रेस वा माओवादीलाई मतदान गर्ने निर्णय गर्छ कि के गर्छ त ?
- १७ गते एमाले आफ्नो अडानमा चट्टान झै उभिन्छ ।
० अनि त्यसपछि ?
- जव बहुमतीय प्रक्रिया र तरिकाले मुलुकलाई निकास दिन सक्दैन त्यो तरिका र प्रक्रिया पनि यथास्थितिवादी भएको र अग्रगतितर्फ लान नसक्ने भएको सावित हुन्छ । स्वभाविक रुपले त्यसलाई फेर्न प्रयत्न गर्छ । नियमावलीमा पुनर्विचार गरौं भनेका थियौं । मलाई खुशी पनि लागेको छ बाबुराम भट्टराईले यो विचारलाई समर्थन गर्नुभएको रहेछ । अव कांग्रेसका नेताहरुले पनि फराकिलो दृष्टिकोण राख्नुहुन्छ , उहाँहरु पनि राष्ट्रिय सहमतिको यो वाटोमा आउनुहुन्छ ।
० तपाईको माओवादी पार्टीप्रति अलि नरम दृष्टिकोण हो ?
- मेरो माओवादीप्रति न नरम छ न गरम छ । माओवादी संविधानसभाको निर्वाचनमा यो देशको सबै भन्दा ठूलो पार्टीको रुपमा निर्वाचित भएर आएको पार्टी हो । यो यथार्थतालाई स्वीकार गर्नेको नाम हो झलनाथ खनाल । तर , त्यसलाई स्वीकार नगरेर निषेध गर्नुपर्छ भन्नु भाँडभैलो राजनीति हो । त्यो भाँडभैलो राजनीतिको पक्षमा झलनाथ खनाल छैन । तर , माओवादीले अहिले पनि आफ्ना हिंसात्मक राजनीतिलाई नछोडेर हत्या , अपहरण आक्रमण गर्ने काम गरेको छ , त्यसको निन्दा र भर्त्सना गर्छु , यो आठौं महाधिवेशनको एकता र संघर्षको नीति हो ।
० एउटा विन्दुमा आएर तपाईहरुले कांग्रेस वा माओवादीलाई समर्थन गर्नु पर्ने स्थिति आयो भने तपाई ब्यक्तिगत रुपमा कसलाई समर्थन गर्नुहुन्छ ?
- हामी अहिले यसलाई वा उसलाई भन्दैनौं । दुबै महत्वपूर्ण शक्तिहरु छन् , दुबैलाई मिलाएर लिएर जाने राष्ट्रिय सहमतिको वाटो हो । दुइमध्ये एकातिर जाने वाटो दुर्घटनाको वाटो हो , हामी त्यो वाटो हिंड्दैनौ । राष्ट्रिय सहमतिको वाटो हिंड्न दुइटै शक्तिलाई मिलाउनु बाहेक अर्को विकल्प छैन ।
० अहिले भएको संविधानसभाले एक वर्षभित्र संविधान बनाउन सकेन भने नयाँ निर्वाचनमा पो जाने हो कि त्यतिर एमालेको के सोचाई छ ?
- संसद्को निर्वाचन हुन्थ्यो भने हामी पटक पाटक चुनावमा जान सक्थ्यौं । तर , संविधानसभाले काम गरेन भने पटक पटक निर्वाचनमा जाने अभ्यास विश्वभर कही छैन । अव नेपाल नै अनौठो देश छ यो सांग्रिला हो , यहाँ नयाँ प्रयोग गरौं न त भन्ने हो भने त्यसको तर्कसंगत आधार पनि भेटिएको छैन । त्यसैले यो बाँकी १० महिना हाम्रा लागि सुनौलो अवसर हो । यसलाई ठीक ढंगले प्रयोग गर्यौंभने शान्ति प्रक्रियाको पनि टुंगो लाग्छ मुलुकले नयाँ संविधान पनि पाउछ । तर , यो देशका चार पाँचवटा पार्टीका नेताहरुले गम्भीरतापूर्वक सोच्नुपर्छ , मुख्य रुपमा तीन पार्टीका नेताहरुले सोच्नुपर्छ । म सोच्न तयार छु जुनसुकै प्रकारको वलिदान दिन र त्याग गर्न तयार छु , आउनुहोस् तपाई पनि सहमतिमा । तपाईहरु उपयुक्त ढंगले गर्नुहुन्छ भने जस कसैको नेतृत्वमा पनि संभव हुन सक्छ । तर , विश्वासको आधार निर्माण गर्न सक्नु पर्यो । तर अहिले नया निर्वाचन तिर जानु हुँदैन ।
(बीबीसी नेपाली सेवाको साझासवालमा खनालले आईतबार व्यक्तगरेको बिचारको संपादित अंस-सं)