पाकिस्तान, २८ जुलाई / करिब १ सय ५२ यात्रुसहित उडेको पाकिस्तानी विमान इस्लामावाद बाहिर दुर्घटनामा परेको छ। घटनामा भएको मानवीय क्षतीबारे कुनै जानकारी उपलव्ध नभएपनि प्रत्यक्षदर्शीले दुर्घटना भएको स्थानमा धुँवाको मुस्लो देखिएको बताएका छन्।
घटनामा ५ जनाको सकुशल उद्धार गरिएको पाकिस्तान सरकारले जनाएको छ।पाकिस्तानको टेलिभिजनले एक शव फेला परेको देखाएको छ। विमान घना जंगलमा दुर्घटना भएको टेलिभिजनमा देखिएको छ।
"विमानमा १ सय ४६ यात्रु र ६ जना चालक दलका सदस्य छन्। हामी सुचना संकलन गरिरहेका छौं। हामीसँग पूरा जानकारी छैन,"पाकिस्तानको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता मुवारिक साहले भने।
विमान कराँचीबाट इस्लामावाद जाँदै गरेको थियो। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। एयरव्लु विमानको दुर्घटना हुनुभन्दा केही अघिसम्म इस्लामावाद विमानस्थल टावरसँग सम्पर्क थियो। दुर्घटना मार्गल्ला हिल्समा भएको हो। त्यहाँ बादलले पूरै ढाकेको थियो।
प्रहरीले खराव मौशमका कारण आफूहरु दुर्घटनास्थलसम्म पुग्न नसकिरहेको जनाएको छ। सरकारी अधिकारीहरुले सुरुमा त दुर्घटनामा सानो विमान परेको अनुमानमात्रै गरेका थिए।