पाकिस्तान, २९जुलाई/ भारतको दुई दिने भ्रमणमा रहनु भएका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले हिजो बेंग्लोरमा दिनु भएको अभिव्यक्तिलाई लिएर पाकिस्तान र बेलायत बीच विवाद सुरु भएको छ।
भ्रमणको पहिलो दिन बेंग्लोरमा प्रधानमन्त्री क्यामरुनले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिने गरेको बताउनुभएको थियो। पाकिस्तानले क्यामरुनको पछिल्लो अभिब्यक्तिले आफ्नो क्षेत्रीय शान्तिमा आघात पुगेको बताएको छ।
बेलायतका लागि पाकिस्तानका उच्च आयुक्त वाजीद शमसुल हसनले बुधवार क्यामरुनले आतंकवाद प्रवर्द्धनमा पाकिस्तानको संलग्नता रहेको भनी लगाउनु भएको आरोपले शान्ति कायम गर्ने पाकिस्तानको प्रयासमा आघात पुर्याएको टिप्पणी गर्नु भएको छ।
बेलायतबाट प्रकासित हुने पत्रिका दि गार्डीयनलाई दिनु भएको लेखमा पाकिस्तानी उच्च आयुक्त हसनले हालै सार्वजानिक भएको अफगान युद्ध सम्बन्धी अमेरिकी सेनाको गोप्य दस्तावेजप्रति क्यामरुन विश्वस्त हुनु भएको दाबी गरिएको छ।
केही दिन अघि अमेरिकी सेनाका गोप्य अभिलेख विकिलिक्स नामक वेभसाइटले सार्वजानिक गरेको थियो। सार्वजानिक गरिएको दस्तावेजमा पाकिस्तानको गुप्तचर निकाय आइएसआइ र तालिबान बीच साँठगाँठ भएको रहेको छ।
हसनले आफ्नो लेखमा भारतमा क्यामरुनले दिनु भएको बयानमा कुनै सत्यता नभएको बताएका छन्। उहाँले आतंकवाद विरुद्धको अभियानमा पाकिस्तानले गरेको योगदानलाई कसैले पनि भुल्न नहुने तर्फ जोड दिनु भएको छ।
तर, बेलायती प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले क्यामरुनले पाकिस्तानका बिषयमा दिनु भएको अभिव्यक्तिबारे स्पष्ट पार्दै क्यामरुनको टिप्पणी पाकिस्तानी सरकारसँग सम्बन्धित नभई उसको देशप्रति लक्षित रहेको बताएका छन्।